‘अर्नब’ चक्रवातको प्रभावले नेपालमा भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं,कात्तिक १०। बंगालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवात शक्तिशाली बन्दै गएको र अति शक्तिशाली हुने सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा प्राधिकरणले कात्तिक १२ गते बिहीबार रातिदेखि नेपालमा चक्रवातको प्रभाव देखिन सक्ने जनाएको छ । चक्रवात कात्तिक ११ गते भारतको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको पनि प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार कात्तिक १३ र १४ गते कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने देखिएको छ । ती प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको प्राधिकरणले चेतावनी दिएको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले कात्तिक १२, १३ र १४ गते विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । धानबाली काट्ने र भित्र्याउनेलगायत कृषि कार्य कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न तथा उच्च पहाडी र हिमाली क्षेत्रमा अनावश्यक आवतजावत नगर्न पनि सुझाव दिएको छ ।
मौसम प्रतिकूल रहेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । जोखिमको अवस्था हेरी सवारी आवागमन रोक्नुपर्ने हुन सक्ने भएकाले सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्नसमेत प्राधिकरणले अनुरोध गरेको छ ।
त्यस्तै, जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचना र चेतावनीका आधारमा सुरक्षित स्थानमा सार्न, सुरक्षा निकाय तथा स्थानीय तहलाई पूर्वतयारी अवस्थामा रहन र सम्बन्धित निकायबाट जारी हुने आधिकारिक मौसम पूर्वानुमान तथा चेतावनी पालना गर्न प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्का बेला सहयोग माग्न १२३४, १०० वा १११४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
यसैबीच, चक्रवातको सम्भावित प्रभावका कारण कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने प्राधिकरणले जनाएको छ । वर्षाका कारण नदीमा जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र जारी हुने पूर्वसूचना तथा चेतावनी पालना गर्न आग्रह गरिएको छ ।

