चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा आजदेखि भारी वर्षा र हिमपातको सम्भावना



काठमाडौँ, कात्तिक १२ । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

विभागकी मौसमविद् बिनु महर्जनका अनुसार चक्रवात भारतको आन्ध्र प्रदेशबाट जमिनमा प्रवेश गरिसकेको छ। यसको प्रभाव नेपालमा समेत देखिन थालेको छ। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

मौसमविद् महर्जनले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी तथा एकदुई स्थानमा अतिभारी वर्षा हुन सक्ने बताउनुभयो। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा पनि वर्षाको सम्भावना छ। सातवटै प्रदेशका हिमाली क्षेत्रमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

सम्भावित वर्षाले बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। धानबाली भित्र्याउने किसानलाई मौसमको पूर्वानुमान हेरेर काम गर्न तथा उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।

प्रतिक्रिया दिनुहोस्