बालबालिका र गर्भवतीलाई इनर्जी ड्रिङ्क्स नपिउन विभागको आग्रह



काठमाडौँ,कात्तिक १२। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ।

विभागले इनर्जी ड्रिङ्क्स सेवन गर्न मिल्ने व्यक्तिलाई समेत दिनमा दुई क्यानभन्दा बढी नपिउन सुझाव दिएको छ। नेपालमा हाल १७ वटा उद्योगले अनुमति लिएर इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन्।

विभागका अनुसार नेपालमा उत्पादित इनर्जी ड्रिङ्क्सको प्रतिक्यानमा १०० मिलिग्राम क्याफिन रहेको पाइएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वस्थ वयस्कले सबै खाद्य तथा पेय पदार्थबाट दैनिक अधिकतम ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्न सक्ने वैज्ञानिक आधार रहेको विभागले जनाएको छ।

विभागले इनर्जी ड्रिङ्क्सलाई पानी, जुस, दूध तथा मोहीजस्ता पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर नपिउन पनि आग्रह गरेको छ।

त्यस्तै, उत्पादक तथा विक्रेतालाई कानुनअनुसार अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न र उत्पादनको लेबलमा सुरक्षित उपभोगसम्बन्धी चेतावनी स्पष्ट रूपमा उल्लेख गर्न निर्देशन दिइएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्