फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने
एजेन्सी,कात्तिक १२ । ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उहाँको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ। अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीसम्बन्धी अनुसन्धानमा रहेका बोल्सोनारोमाथि ब्राजिलको अदालतले राहदानी बुझाउन आदेश दिएको छ।
बोल्सोनारो अहिले कहाँ हुनुहुन्छ भन्ने स्पष्ट भएको छैन। राष्ट्रपति लुलाले उहाँले देश छाडेको जानकारी पाए पनि गन्तव्यबारे आफूलाई थाहा नभएको बताउनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्सोनारो परिवारलाई असल मानिसको संज्ञा दिँदै अमेरिकामा स्वागत गर्ने बताउनुभएको छ।
बोल्सोनारोले निर्वाचनमा आफ्नो पराजय स्वीकार गर्नुभएको छैन। उहाँले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै परिणाम उल्ट्याउन माग गर्नुभएको छ। निर्वाचनमा लुलाले छ करोड ४० लाखभन्दा बढी मत प्राप्त गर्दा बोल्सोनारोले छ करोडभन्दा कम मत पाउनुभएको थियो।
बोल्सोनारोका भाइ एडुआर्डो टेक्सासमा बस्दै आउनुभएको छ। अमेरिकी प्रशासनसँग सम्बन्धित गैरकानुनी पैरवी गरेको अभियोगमा उहाँलाई अनुपस्थितिमै चार वर्षको जेल सजाय सुनाइएको छ।
यसैबीच, फ्लेभियोका पिता तथा ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो सन् २०२२ को निर्वाचनमा पराजित भएपछि विद्रोहको प्रयास गरेको अभियोगमा २७ वर्षको जेल सजाय भोगिरहनुभएको छ।
फ्लेभियोमाथि सरकारी निवृत्तिभरणबाट ठगीपूर्ण कटौती गरेको र विवादास्पद बैंकरबाट लाखौँ डलर लिएको आरोपमा अनुसन्धान भइरहेको छ। उहाँले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै अनुसन्धानको नेतृत्व गरिरहेका न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाउनुभएको छ।
सिनेटरका रूपमा फ्लेभियोको कार्यकाल सन् २०२७ जनवरी ३१ मा सकिँदैछ। त्यसपछि उहाँले सर्वोच्च अदालतमा प्राप्त विशेष क्षेत्राधिकार गुमाउनुहुनेछ।

