पहिरो र लेदो हटाएपछि खुल्यो बिपी राजमार्ग



काभ्रे,कात्तिक १६ । अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाइएपछि आइतबार बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।

शुक्रबार र शनिबारको वर्षाका कारण काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्मका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा लेदो र ढुङ्गा थुप्रिएपछि शनिबार बिहानदेखि यातायात अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार आइतबार बिहानदेखि डोजरको सहायताले पहिरो र लेदो हटाउन सुरु गरिएको थियो । सडक खुलाउन सुरक्षाकर्मी र प्राविधिक टोलीसमेत परिचालन गरिएको थियो ।

रोशी गाउँपालिका–९ पिन्थलीमा खहरे खोलाले बगाएर ल्याएको ढुङ्गा र माटोसहितको लेदो तथा वडा नं ८ गिम्दीबेँसीमा खसेको पहिरो हटाएपछि राजमार्गमा पुनः यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्