पञ्चकन्या–४ मा मौरीसहितका घार वितरण, व्यावसायिक मौरीपालनबाट स्वरोजगारको लक्ष्य
नुवाकोट,कात्तिक १९ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउँदै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले मौरीपालन व्यवसाय प्रवर्द्धन गर्न थालेको छ। परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्दै गाउँपालिकाले वडा नं. ४ का स्थानीयलाई मौरीसहितका घार वितरण गरेको हो।
गाउँपालिकाको रोजगार, सीप तथा उद्यमशीलता केन्द्रअन्तर्गत सञ्चालित उद्योग विकास तथा लघु उद्यम विकास कार्यक्रम (मेडपा) मार्फत गत आर्थिक वर्षमा इच्छुक स्थानीय नागरिकलाई मौरीपालनसम्बन्धी सीप तथा उद्यमशीलता विकास तालिम प्रदान गरिएको थियो। तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक रूपमा आयआर्जन गर्न सहयोग पुर्याउने उद्देश्यले यस वर्ष प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत मौरीसहितका घार वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
तालिमपछि आवश्यक प्रविधि र सामग्री उपलब्ध गराउँदा स्थानीय नागरिकलाई व्यावसायिक उद्यममा लाग्न सहज हुने अपेक्षा गरिएको छ। मौरीपालनबाट मह उत्पादन तथा बिक्रीमार्फत आम्दानी बढाउनुका साथै स्थानीयस्तरमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न सकिने विश्वास गाउँपालिकाले लिएको छ।
मौरीपालनले आर्थिक आयआर्जनमा मात्रै नभई कृषि बालीको परागसेचनमा सहयोग पुर्याएर कृषि उत्पादन वृद्धि र वातावरणीय सन्तुलन कायम गर्नसमेत महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको गाउँपालिकाका रोजगार संयोजक सरोज केसीले बताउनुभयो ।
मौरीसहितका घार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, इन्जिनियर हेमराज पौडेललगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
स्थानीय स्रोत, सीप र सम्भावनालाई उत्पादन तथा उद्यमसँग जोड्दै पञ्चकन्या गाउँपालिकाले नागरिकलाई आफ्नै गाउँमा रोजगारी सिर्जना गर्न प्रोत्साहित गरेको छ। तालिमसँगै प्रविधि हस्तान्तरण गर्ने गाउँपालिकाको प्रयासले स्थानीय उद्यमशीलता विकास र आत्मनिर्भर पञ्चकन्या निर्माणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

