प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं,कात्तिक १९ । गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीलाई निर्देशन दिनुभएको छ।

गृह मन्त्रालयमा बुधबार नवनियुक्त प्रहरी महानिरीक्षक डा केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेपछि गृहमन्त्री गुरुङले प्रहरी सङ्गठनलाई नागरिकमैत्री व्यवहार अपनाउन निर्देशन दिनुभएको हो।

उहाँले शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, विपद् व्यवस्थापन गर्ने तथा नागरिक सेवाका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न प्रहरी सङ्गठनलाई आग्रह गर्नुभयो।

फिल्डमा खटिने प्रहरी जवानहरूको मनोबल उच्च राख्नुपर्नेमा जोड दिँदै गृहमन्त्री गुरुङले प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो। प्रहरी सङ्गठनलाई काम गर्न कुनै कठिनाइ भए त्यसको समाधान गर्न गृह मन्त्रालय तत्पर रहेको उहाँले उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्