एनपिएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय युवक पक्राउ



काठमाडौं,कात्तिक १९ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा अनलाइन सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ ठमेलमा बस्दै आएका भारतको बिहार राज्य भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ का खेलमा केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गर्ने तथा गराउने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा सिन्हाले विभिन्न अनलाइन सट्टेबाजीका वेबसाइटमार्फत ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिन्हालाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्