प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता
काठमाडौं,कात्तिक २० । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, विपद् व्यवस्थापन, खेलकुद विकास, ऊर्जा, व्यापार तथा पारवहनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।
भेटका क्रममा प्रधानमन्त्री शाहले हालै रसुवा–भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीपछि भारतले उद्धार टोली खटाउनुका साथै राहत सामग्री उपलब्ध गराएर गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। विपद्का बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत व्यक्त गर्नुभएको ऐक्यबद्धता र सहयोगको प्रतिबद्धताप्रति पनि उहाँले धन्यवाद दिनुभयो।
प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासमा भारतसँग सहकार्य गर्न सकिने विषयमा चासो व्यक्त गर्नुभएको थियो।
भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई सफल बनाउन भारतीय प्रधानमन्त्री मोदीले तयारी तीव्र पारेको जानकारी गराउनुभयो। भारतले भ्रमणका लागि आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो।
यसैगरी, ऊर्जा, जलस्रोत, व्यापार तथा पारवहन र उड्डयनसम्बन्धी नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी मिस्रीले गराउनुभयो।
भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको पनि उहाँले जानकारी दिनुभयो। उक्त रेलमार्गमा बिहीबार नै परीक्षणसमेत गरिएको प्रधानमन्त्रीका प्रेस विज्ञ दाहालले बताउनुभयो।

