व्यक्तिभन्दा नीति र प्रणाली जनताको क्षेत्रमा पुग्नुपर्छ : रवि लामिछाने
चितवन,कात्तिक २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचित जनप्रतिनिधिभन्दा नीति र प्रणाली जनताको क्षेत्रमा पुग्नुपर्ने बताउनुभएको छ।
बिहीबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका लामिछानेले आफू चितवन आउन ढिला भए पनि सरकार र पार्टीका नीतिगत काम देशभर भइरहेको बताउनुभयो।
“व्यक्तिभन्दा प्रणाली आउनुपर्छ भन्ने सोचका कारण म व्यक्तिका रूपमा ढिला आए पनि सरकारका रूपमा, पार्टीका रूपमा र पार्टीको संरचनामार्फत सरकारका नीतिहरू देशभर पुगिरहेका छन्,” उहाँले भन्नुभयो।
उहाँले व्यक्तिभन्दा नीति र राज्यको प्रणाली स्थापित हुनु आफ्नो उद्देश्य रहेको उल्लेख गर्दै राज्यका नीतिहरू कार्यान्वयनको क्रम जारी रहेको बताउनुभयो।
सभापति लामिछाने शुक्रबारसम्म चितवनका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रमसहित बिहीबार चितवन पुग्नुभएको हो।
रास्वपा चितवनका सभापति इन्जिनियर मिनिमाधव खनालका अनुसार चितवन पुगेपछि लामिछाने पार्टी कार्यालयमा जिल्ला, क्षेत्र र स्थानीय तहका पदाधिकारीसँग संगठनात्मक छलफलमा सहभागी हुनुहुनेछ।
त्यस्तै, आज बिहान नारायणी नदी किनारको कटान क्षेत्र अवलोकन गर्नुका साथै सम्बन्धित पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

