ममता काफ्ले हत्या प्रकरण : श्रीमतीको शव टुक्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार
काठमाडौँ,कात्तिक २०। अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या तथा बेपत्ता प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेश भट्टले श्रीमतीको शव टुक्रा–टुक्रा पारेको अदालतमा स्वीकार गरेका छन्।
हत्यासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बिहीबार बयान दिँदै भट्टले शयनकक्षको भुइँमा ममताको शव फेला पारेपछि टुक्रा पारेको बताएका हुन्। उनीमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव क्षतविक्षत पारेको अभियोग लगाइएको छ।
भट्टका अनुसार सन् २०२४ जुलाई ३० को बिहान उनले ममतलाई शयनकक्षको भुइँमा अचेत अवस्थामा फेला पारेका थिए। ममताको मुख र भुइँमा रगत, खानाका टुक्रा, क्याप्सुल तथा कीटनाशक विषादीका रूपमा प्रयोग हुने ‘सेलफोस’ का अवशेषसहित वान्ता देखिएको उनले बयान दिएका छन्।
उनले ममताको अवस्था जाँच गरेको, बोलाउने प्रयास गरेको र मुटुको धड्कन पुनः सञ्चालन गराउने प्राथमिक उपचार (सीपीआर) लगायतका जीवनरक्षक उपाय अपनाएको दाबी गरेका छन्। त्यसपछि शव टुक्रा पार्ने निर्णय लिएको र सुरुमा खुट्टा अलग्याउने प्रयास गरेको उनले अदालतमा बताएका छन्।
शवलाई बाथरुममा लगेको भए पनि शारीरिक रूपमा कमजोर महसुस भएपछि पहिलो दिन त्यहीँ रोकेको भट्टको भनाइ छ। त्यसपछि उनी आफ्नी नाबालक छोरीको स्याहार, खाना र सुताउने काममा लागेको बयानमा उल्लेख छ। घटनाको रात आफू डरका कारण सुत्न नसकेको र पूजा कोठामा समेत नगएको उनले बताएका छन्।
ममता काफ्ले युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। उनी काममा उपस्थित नभएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सुरुमा भट्टले ममता बेपत्ता भएको कुरा अस्वीकार गर्दै अन्तिम पटक जुलाई २९ मा देखेको बताएका थिए।
भट्टले सन् २०२४ अगस्ट ५ मा मात्रै प्रहरीमा श्रीमती बेपत्ता भएको उजुरी दिएका थिए। त्यस क्रममा उनले ममताले आफूलाई छाड्ने धम्की दिएको र सम्बन्धविच्छेदको प्रस्ताव राखेको दाबी गरेका थिए।
अनुसन्धानका क्रममा प्रहरीले दम्पतीको शयनकक्ष र बाथरुममा रगतका टाटा फेला पारेको थियो। साथै, कपालका टुक्रा अड्किएको विद्युतीय आरा बरामद भएपछि प्रहरीले सन् २०२४ अगस्ट २२ मा भट्टलाई पक्राउ गरेको थियो।
ममताको शव अहिलेसम्म फेला परेको छैन। पक्राउ परेयता नरेश भट्ट निरन्तर हिरासतमा छन्।

