‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्’ : रविको प्रश्नमा बालेनको जवाफ



काठमाडौँ,कात्तिक २०। प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने सरकारको निर्णयमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रश्न उठाएपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन्। उनको टिप्पणी पुराना राजनीतिक दलहरूमा देखिएको गुटबन्दी र आन्तरिक विभाजनतर्फ समेत लक्षित देखिएको छ।

रास्वपा सभापति लामिछानेले बिहीबार आईजीपी हटाउने सरकारको निर्णयबारे प्रतिक्रिया दिँदै त्यसको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताएका थिए। रास्वपाका अन्य नेताहरूले पनि उक्त निर्णय गर्नुअघि पार्टीसँग छलफल नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए।

त्यसको जवाफमा प्रधानमन्त्री शाहले फेसबुकमार्फत राजनीतिक दलहरूको कार्यशैलीमाथि व्यंग्य गर्दै लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् ! फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ !’

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई सरकारको निर्णयमाथि आफ्नै पार्टीका नेताहरूले उठाएको प्रश्नको प्रतिवादका रूपमा हेरिएको छ। साथै, पुराना राजनीतिक दलहरूमा देखिएको गुटगत राजनीति र नेतृत्वको कार्यशैलीप्रति पनि उनले कटाक्ष गरेको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।

विशेषगरी नेपाली कांग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच देखिएको आन्तरिक प्रतिस्पर्धा तथा कार्यकर्ताबीचको तिक्ततासँग प्रधानमन्त्रीको टिप्पणी जोडेर हेरिएको छ।

कांग्रेसभित्र दुवै पक्षबीचको राजनीतिक ध्रुवीकरणले पार्टीको एकता र संगठनात्मक अवस्थामाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री शाहको अभिव्यक्तिले पुराना दलहरूको आन्तरिक राजनीतिक संस्कारमाथि थप बहस सिर्जना गरेको छ।

आईजीपी हटाउने सरकारको निर्णयलाई लिएर रास्वपाभित्रै देखिएको असन्तुष्टि र प्रधानमन्त्रीको सार्वजनिक प्रतिक्रियाले सरकार तथा पार्टी नेतृत्वबीचको सम्बन्धमा समेत चासो बढाएको छ।

प्रतिक्रिया दिनुहोस्