आजदेखि तिहार सुरु, मिथिला क्षेत्रमा धनतेरस मनाइँदै
काठमाडौं,कात्तिक २० । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ। तिहारको पहिलो दिन मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा साँझ दीपमालिका गरी धनतेरस मनाउने परम्परा छ।
चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनको भएको छ।
मिथिला परम्पराअनुसार धनतेरसका दिन साँझ घरमा दीपमालिका गरी धातुका नयाँ भाँडाकुँडा तथा गरगहना किनेर पूजा गर्ने चलन छ। धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न पार्ने उद्देश्यले धातुका सामान, खरेटो, धनियाँलगायत सामग्री खरिद गरी घरमा लक्ष्मी स्थापना गरिन्छ।
मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाका अनुसार आज बिहान सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी सुरु हुने भएकाले आजै धनतेरस मनाइनेछ। त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।
त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ। मिथिला क्षेत्रमा चाडपर्व, तिथिश्राद्ध तथा शुभकार्यको निर्धारण मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गर्ने परम्परा छ।
पञ्चाङ्गअनुसार आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा हुनेछ। दीपावली पर्व आगामी बुधबार मैथिल परम्पराअनुसार भैयादूज मनाएर सम्पन्न गरिनेछ।

