नागरिकलाई केन्द्रमा राखेर काम गर्न सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ,कात्तिक २० । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) बैठकमा उहाँले संस्थाको जिम्मेवारीअनुसार परिणाममुखी काम गर्न निर्देशन दिनुभएको हो ।
मन्त्री तिमिल्सिनाले कार्यालयका नियमित गतिविधि सञ्चालन गर्नु मात्रै उपलब्धि नभएको उल्लेख गर्दै नागरिकले प्राप्त गर्ने सेवा र त्यसको प्रभावलाई कार्यसम्पादनको मुख्य आधार बनाउनुपर्ने बताउनुभयो । गतिविधिभन्दा त्यसको परिणाम महत्त्वपूर्ण हुने भन्दै उहाँले हरेक दिन मापनयोग्य काम गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्रालय तथा मातहतका निकायका प्रमुख र कर्मचारीले आफ्नो संस्थाको जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै उहाँले नेतृत्व तहबाटै सक्रियता र जवाफदेहिता आवश्यक रहेको बताउनुभयो । कार्यसम्पादनमा समस्या देखिए त्रैमासिक समीक्षासम्म कुर्न नहुने भन्दै तत्काल समाधानका उपायसहित सम्बन्धित निकायमा जानकारी गराउन निर्देशन दिनुभयो ।
सरकारले निर्धारण गरेका लक्ष्य र जिम्मेवारी पूरा गर्न कार्यसम्पादन सम्झौता गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो । बजेट खर्च गर्नु मात्रै प्रगति नभएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले विनियोजित बजेट उद्देश्यअनुसार उपयोग भए नभएको समीक्षा गर्नुपर्ने बताउनुभयो ।
उहाँले अन्तरनिकाय समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन, अनावश्यक पुराना प्रक्रियामा सुधार गर्न तथा सेवा प्रवाह सहज बनाउन निर्देशन दिनुभयो । संस्थागत सुधार, जनशक्ति व्यवस्थापन र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत चुस्त संरचना निर्माणमा पनि जोड दिनुभयो ।
संस्थागत गोपनीयता र पेसागत इमानदारी कायम राख्न निर्देशन दिँदै उहाँले संस्थाको हितविपरीत सूचना चुहावट गर्ने तथा संस्थागत मर्यादामा आँच पुर्याउने गतिविधिलाई सरकारले गम्भीरतापूर्वक लिने बताउनुभयो ।
बैठकमा सञ्चार सचिव राजेन्द्रकुमार पौडेलले मन्त्रालयका नीतिगत, कार्यगत तथा बजेटगत गतिविधि तीव्र रूपमा अघि बढिरहेको जानकारी दिनुभयो । प्रथम त्रैमासिकको समग्र प्रगति सन्तोषजनक देखिए पनि केही ठूला खरिद प्रक्रिया तथा कार्यक्रम कार्यान्वयनका काम प्रक्रियामै रहेको उहाँले बताउनुभयो ।
दोस्रो चौमासिकदेखि कामकाज थप सहज हुने अपेक्षा व्यक्त गर्दै सचिव पौडेलले सेवा प्रवाह छिटोछरितो, प्रभावकारी र गुनासोरहित बनाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा मन्त्रालय तथा मातहतका निकायको प्रथम त्रैमासिक कार्यप्रगति, बजेट खर्च, कार्यक्रम कार्यान्वयनको अवस्था र देखिएका समस्याबारे समीक्षा गरिएको थियो ।

