श्रद्धा र भक्तिपूर्वक मनाइयो लक्ष्मीपूजा, झिलिमिली बत्तीले सजियो काठमाडौं उपत्यका
काठमाडौं, कात्तिक २३– धनधान्य एवं समृद्धिकी देवी लक्ष्मीको आइतबार साँझ देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी लक्ष्मीपूजा मनाइएको छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण औँसी अर्थात् यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजा गर्ने धार्मिक परम्परा छ । यस अवसरमा बिहानैदेखि घरआँगन सफा गरी दीपावलीका साथ देवी लक्ष्मीलाई आमन्त्रण गर्ने चलन रहेको छ ।
लक्ष्मीपूजाका अवसरमा घरका झ्याल, ढोका, आँगन र पूजाकोठामा दीप प्रज्ज्वलन गरी लक्ष्मीको पूजा आराधना गरिन्छ । साँझ आँगनदेखि मूलढोकासम्म लक्ष्मीको पाइला बनाएर देवीलाई घरभित्र प्रवेश गराउने परम्परा छ । दियो तथा रंगीचंगी बत्ती बालेर घरलाई झिलिमिली बनाइन्छ ।
लक्ष्मीपूजाको साँझ काठमाडौं उपत्यकाका घर, सडक तथा बजार विभिन्न प्रकारका बिजुली बत्तीले झिलिमिली बनेका थिए । बत्तीको आकर्षक सजावटले उपत्यकाको रौनक थपिएको थियो । घरघरमा बालिएका दियो, पाला र आधुनिक बिजुली बत्तीले उपत्यकाको दृश्य मनमोहक देखिएको थियो ।
यस दिन लक्ष्मी, गणेश र कुबेरको पूजा गरी धनधान्य, गरगहना, फलफूल तथा मिठाई चढाउने धार्मिक चलन छ । लक्ष्मीपूजाको अवसरमा घरघरमा भैलो खेल्ने परम्परा पनि रहेको छ ।
लक्ष्मीपूजा गरिने रातलाई सुखरात्रिका रूपमा मनाउने धार्मिक मान्यता रहेको छ ।

