कुकुर तिहारलाई अन्तरराष्ट्रियकरण गर्न प्रथम महिला सबिना काफ्लेको जोड
काठमाडौं, कात्तिक २३– नेपालकी प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कुकुर तिहार, २०८३ को अवसरमा आइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पशुपन्छी तथा प्रकृतिप्रतिको सम्मान र संरक्षण झल्काउने नेपाली चाडपर्व तथा संस्कृतिको अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कुकुर तिहारलाई धार्मिक तथा सांस्कृतिक पर्वमा मात्र सीमित नराखी पशुप्रतिको प्रेम, निष्ठा, करुणा र सहअस्तित्वको सन्देश विश्वभर पुर्याउनुपर्ने उहाँको भनाइ थियो । विश्वभर कुकुरप्रतिको प्रेम र आकर्षण बढिरहेको सन्दर्भमा कुकुरको पूजा गर्ने नेपालको विशिष्ट सांस्कृतिक परम्परालाई अन्तरराष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न सकिने उहाँले बताउनुभयो ।
“कुकुर तिहारलाई अन्तरराष्ट्रियकरण गर्नु हाम्रो एउटा प्रमुख उद्देश्य हो । कुकुरप्रतिको प्रेम र सम्मानका साथै पूजा गर्ने हाम्रो मौलिक परम्पराको सन्देश नेपालबाट विश्वभर पु¥याउन चाहन्छौँ”, प्रथम महिला काफ्लेले भन्नुभयो ।
उहाँले कुकुर तिहारलाई एक दिनको उत्सवमा सीमित नगरी वर्षभरि पशु कल्याणका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कुकुरको उचित व्यवस्थापन, खोप, स्वास्थ्य उपचार तथा उनीहरूप्रति गरिने व्यवहारमा जिम्मेवारी बोध आवश्यक रहेको उहाँको भनाइ थियो ।
नेपालका चाडपर्वमा प्रकृति र जीवजन्तुप्रतिको सम्मान झल्कने अनेकौँ मौलिक अभ्यास रहेको उल्लेख गर्दै काफ्लेले कुकुर तिहारसँगै काग पूजा, गाई पूजा, नाग पूजा, नेवार समुदायको म्हः पूजा र छठ पर्वलाई पनि अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । वर्षा नभएका बेला भ्यागुताको विवाह गराउने परम्परासमेत प्रकृति र मानवबीचको सम्बन्धको उदाहरण भएको उहाँले उल्लेख गर्नुभयो ।
डिजिटल युगमा मानिसबीच तथा मानव र प्रकृतिबीचको निकटता कमजोर हुँदै गइरहेको भन्दै उहाँले नेपाली मौलिक चाडपर्वले प्रकृतिसँगको सम्बन्ध पुनः स्थापित गर्ने सन्देश दिन सक्ने बताउनुभयो ।
कार्यक्रममार्फत कुकुर तिहारलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न ‘फ्रम नेपाल विथ पज’, ‘डेज अफ द डग्स’, ‘भिजिट नेपाल डग स्टे’, ‘लभ योर डग्स एभ्री डे’ र ‘कुकुर तिहार नेपाल’ लगायतका ह्यासट्याग सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले नीति निर्माण तहका पदाधिकारी, सांसद, स्थानीय तहका जनप्रतिनिधि, कलाकार, सामग्री उत्पादक, अन्तरराष्ट्रिय सञ्चारमाध्यम तथा विभिन्न देशका राजदूतलाई नेपालको मौलिक परम्पराको प्रचारप्रसारमा सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई वर्षको एक दिन पूजा गर्ने धार्मिक परम्परामा मात्र सीमित नराखी पशुप्रति वर्षभरि करुणा, माया र जिम्मेवारी देखाउनुपर्ने बताउनुभयो ।
पशु कल्याण र मानव स्वास्थ्य एकअर्काका पूरक विषय भएको उल्लेख गर्दै उहाँले ‘एक स्वास्थ्य अवधारणा’अन्तर्गत रेबिज नियन्त्रण, खोप, बन्ध्याकरण तथा जिम्मेवार पशुपालनका लागि सरकार, स्थानीय तह र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
मन्त्री चौधरीले कुकुर तिहारलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन नेपाली दूतावास, विदेशमा रहेका नेपाली समुदाय, पर्यटन प्रवर्द्धन गर्ने निकाय तथा अन्तरराष्ट्रिय पशु कल्याणसम्बन्धी संस्थासँग सहकार्य गर्न सकिने बताउनुभयो । यसबाट नेपालको मौलिक संस्कृति र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने उहाँको भनाइ थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कुकुर र मानिसबीचको सम्बन्धको चर्चा गर्दै कुकुर तिहारको विशेष महत्त्व रहेको बताउनुभयो । उहाँले कुकुरको महत्त्व नेपाली धर्म, संस्कृति र धर्मग्रन्थमा समेत उल्लेख रहेको बताउनुभयो ।
कार्यक्रममा प्रथम महिला काफ्लेले ‘बिन्दु’ नामक कुकुरको पूजा गर्नुभयो । कलाकार बसुन्धरा भुसाल, भुवन चन्द र मिथिला शर्माले सशस्त्र प्रहरीको केनाइन युनिटमा तालिमप्राप्त कुकुर ‘साम्बा’लाई विशेष सम्मान गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले आफ्ना कुकुरको समेत पूजा गरेका थिए ।

