कांग्रेस रसुवामा पाँच पालिका र दुई प्रदेश क्षेत्रका सभापति सर्वसम्मत
रसुवा, कात्तिक २३– नेपाली कांग्रेस रसुवाको नियमित अधिवेशनबाट जिल्लाका पाँचवटै गाउँपालिका तथा प्रदेशसभा क्षेत्र (क) र (ख) का सभापति सर्वसम्मत रूपमा चयन भएका छन् ।
जिल्ला सभापति उपेन्द्र लम्सालका अनुसार प्रदेशसभा क्षेत्र (क) को सभापतिमा तेम्पा नुर्पु तामाङ र प्रदेशसभा क्षेत्र (ख) को सभापतिमा धनबहादुर गुरुङ चयन भएका छन् ।
त्यसैगरी गाउँपालिका सभापतिमा उत्तरगया गाउँपालिकाबाट धुर्वराज आचार्य, गोसाइँकुण्ड गाउँपालिकाबाट प्रकाश लामा, कालिका गाउँपालिकाबाट माधवप्रसाद न्यौपाने, आमाछोदिङ्मो गाउँपालिकाबाट चेरसिंह तामाङ र नौकुण्ड गाउँपालिकाबाट डिबराज न्यौपाने (शंकर) सर्वसम्मत चयन भएका हुन् ।
नवनिर्वाचित सभापतिहरूलाई जिल्ला सभापति उपेन्द्र लम्सालले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले पार्टीको विचार, सिद्धान्त, राजनीतिक मूल्य–मान्यता र इमानदारीलाई आत्मसात् गर्दै संगठन निर्माण तथा विस्तारमा नवनिर्वाचित नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउन नवनिर्वाचित नेतृत्वसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि सभापति लम्सालले जनाउनुभएको छ ।
यसअघि नै जिल्ला सभापतिमा निर्वाचित लम्सालले पालिका तथा प्रदेश क्षेत्रीय तहमा सर्वसम्मत नेतृत्व चयन हुनुलाई पार्टी संगठनका लागि सकारात्मक उपलब्धिका रूपमा लिनुभएको छ ।
यसैबीच, नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । केन्द्रीय महाधिवेशनको तयारी भइरहेका बेला रसुवामा स्थानीय तथा क्षेत्रीय तहको नेतृत्व सर्वसम्मत चयन हुनुलाई पार्टी संगठन विस्तार र आन्तरिक एकताका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

