तिहारको चौथो दिन गाईपूजा गरी मनाइँदै



काठमाडौं,कात्तिक २३ । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।

हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईको दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले गाईको धार्मिक तथा सांस्कृतिक महत्वसमेत विशेष रहेको छ ।

धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गर्ने परम्परा रहेको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परासमेत पालना गर्दै आएका छन् । पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतमले बताउनुभएको छ ।

गाईलाई सम्मानस्वरूप नेपालको राष्ट्रिय जनावरका रूपमा राखिएको छ । धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले वैतरणी नदी तारेर स्वर्ग पुर्‍याउने विश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्