भोलि पश्चिम नेपालका तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ,कात्तिक २८ । भोलि आइतबार देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा मौसम बदली हुने भएको छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आइतबार दिउँसो देशको हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।
आइतबार राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।
तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। रातिको समयमा देशका हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।

