ककनीका ८० विद्यार्थीलाई न्यानो कपडा र खेलकुद सामग्री सहयोग
नुवाकोट,मंसिर १ । जाडोयाममा विद्यार्थीलाई अध्ययनप्रति थप उत्साहित गराउने उद्देश्यले नुवाकोटको ककनी गाउँपालिका–५, सिम्लेस्थित सरस्वती माध्यमिक विद्यालयका ८० जना विद्यार्थीलाई न्यानो कपडा तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
विद्यार्थीलाई स्वेटर र खेलकुद सामग्री उपलब्ध गराइएपछि उनीहरू उत्साहित भएका छन् । विदुर नगरपालिका–५, गङ्गटे घर भई हाल स्विट्जरल्यान्डमा बसोबास गर्दै आउनुभएका शिक्षाप्रेमी तथा खेलकुदप्रेमी विक्रम केसीले उक्त सामग्री सहयोग गर्नुभएको विद्यालयले जनाएको छ ।
केसीको सहयोगले विद्यालय र विद्यार्थीहरू खुसी भएको शिक्षक वसन्त रिमालले बताउनुभयो ।
विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडा सहयोग गर्नुभएका केसीले अन्य सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आउनुभएको छ । उहाँले बाढीपीडित भई विदुर नगरपालिका–५, लामिबगैँचास्थित अस्थायी आश्रयस्थलमा बसोबास गरिरहेका परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।
त्यसैगरी देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई खाद्यान्न उपलब्ध गराउनुका साथै २५ दलित परिवारलाई नगद सहयोगसमेत गर्नुभएको छ ।
शिक्षा, खेलकुद, ज्येष्ठ नागरिक तथा विपन्न समुदायलाई लक्षित गरी गरिएको यस प्रकारको सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको छ ।

