सङ्घीयतालाई बलियो बनाउन राष्ट्रिय बहस र सहमति आवश्यक : रवि लामिछाने



जनकपुरधाम,मंसिर १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो, व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रियस्तरमा व्यापक छलफल र सहमति आवश्यक रहेको बताउनुभएको छ ।

पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सोमबारदेखि सुरु गर्नुभएको मेची–महाकाली पदयात्राको शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताउनुभयो ।

उहाँले सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई थप व्यवस्थित बनाउँदै सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो ।

पदयात्रा अभियन्ता सिंहले सामाजिक सद्भाव कायम राख्ने, राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने तथा आम नागरिकले भोगिरहेका समस्या नजिकबाट बुझ्ने उद्देश्यले यात्रा सुरु गरिएको बताउनुभयो ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट सुरु भएको पदयात्राका क्रममा मधेससहित देशका विभिन्न भूभागका नागरिकसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्