स्थानीय निर्वाचनको तयारीका लागि एमालेले मङ्सिर २ र ३ गते राष्ट्रिय भेला गर्ने



काठमाडौं,मंसिर १ । नेकपा (एमाले) ले आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारीका लागि मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता कायम गर्दै वैचारिक तथा सङ्गठनात्मक एकतालाई सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गर्न लागेको जनाएको हो ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटी तथा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहनेछ ।

भेलामा उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका महत्वपूर्ण काम तथा उपलब्धिको समीक्षा र महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशासहित ‘दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ काम’ समेटिएको वैचारिक तथा राजनीतिक मार्गदर्शन प्रस्तुत गर्ने आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्