बाढीले भत्काएका पुलपछि नुवाकोटमा यातायात सम्पर्क जोडिँदै, ढुङ्गे–त्रिशूलीमा बेलिब्रिज निर्माण अन्तिम चरणमा
नुवाकोट, मंसिर १ । रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको विनाशकारी बाढीले नुवाकोटका पक्की पुल, सडक तथा नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्याएपछि झण्डै तीन महिनादेखि प्रभावित यातायात सम्पर्क क्रमशः पुनःस्थापना हुन थालेको छ । बाढीले नदी वारिपारिको जनजीवन अस्तव्यस्त बनाएपछि विभिन्न स्थानमा वैकल्पिक सडक, झोलुङ्गे पुल र बेलिब्रिज निर्माण तथा मर्मतको काम अघि बढाइएको छ ।
बाढीपछि देवीघाट र बेत्रावतीमा बेलिब्रिज निर्माण सम्पन्न भएका छन् भने क्षतिग्रस्त तीनवटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ । गत भदौ १० गते बिहान करिब १० बजे आएको विनाशकारी बाढीले नुवाकोट, रसुवा र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो ।
बाढीले विदुर नगरपालिका–१ ढुङ्गे र त्रिशूली बजार जोड्ने दुईवटा पक्की मोटरेबल पुल ध्वस्त पारेपछि अहिले स्थानीयवासीका लागि २६८ मिटर लामो झोलुङ्गे पुल मुख्य सहारा बनेको छ । उक्त पुलले विदुर नगरपालिकाका चारवटा वडा, किस्पाङ र म्यागङ गाउँपालिका हुँदै धादिङको उत्तरी क्षेत्रसम्मका बासिन्दालाई आवतजावतमा सहजता प्रदान गरेको छ ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठका अनुसार सवारीसाधन सञ्चालन हुने पुल भत्किएपछि पैदलयात्राका लागि उक्त झोलुङ्गे पुल महत्वपूर्ण विकल्प बनेको छ । निर्माण व्यवसायी महासङ्घको अगुवाइमा निर्माण भइरहेको पुलको काम अझै पूर्ण रूपमा सम्पन्न भएको छैन । पुलको दुवैतर्फ पखेटा राख्ने तथा तार तान्ने र गाड्ने काम बाँकी रहेको नुवाकोट निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले बताउनुभयो ।
उहाँका अनुसार बाढीले निम्त्याएको कठिन परिस्थितिमा उक्त पुल आवतजावतको माध्यम मात्र नभई प्रभावित नागरिकको जनजीवन सामान्य बनाउने महत्वपूर्ण आधार बनेको छ ।
मोटरेबल पुल नहुँदा स्थानीयवासीले यस वर्ष बडादसैँ र तिहारजस्ता ठूला पर्वमा समेत यही झोलुङ्गे पुल प्रयोग गरेर आवतजावत गरेका थिए । पैदलयात्रा गरेरै भए पनि नदी वारिपारि गर्न पाउँदा स्थानीयमा केही राहत र खुसी थपिएको वडा अध्यक्ष लेनिन रञ्जितले बताउनुभयो ।
स्थानीयवासी राजु शाक्यले पुल निर्माणको बाँकी काम सुरक्षित रूपमा यथाशीघ्र सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । त्यस्तै, बाढीपीडित राजेन्द्र धमलाले सवारीसाधन सञ्चालन हुन नसके पनि पैदलयात्राका लागि पुलले ठूलो सहयोग पुर्याएको बताउनुभयो ।
पुल निर्माणमा नेपाल निर्माण व्यवसायी महासङ्घ र नुवाकोट निर्माण व्यवसायी सङ्घले आर्थिक तथा प्राविधिक योगदान गरेका छन् भने विदुर नगरपालिकाले आवश्यक सामग्री, प्राविधिक सहयोग र सहजीकरण गरेको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले यसलाई आपसी सहकार्य, समर्पण र मानवीय सेवाको उदाहरणका रूपमा लिनुभएको छ ।
यसैबीच, बाढीले पक्की पुल तथा सडक बगाएपछि नुवाकोटका इन्द्रायणीचौर, देवीघाट र सिँचाइ क्षेत्रलगायतका स्थानमा अस्थायी रूपमा तुइन निर्माण गरी आवतजावतको व्यवस्था मिलाइएको छ । तर तुइनबाट नदी तथा खोला पार गर्नुपर्ने जोखिमपूर्ण अवस्थाले स्थानीयवासी चिन्तित छन् ।
चारघरेका दुग्ध व्यवसायी दीपेन्द्र भट्टले चाडपर्वका समयमा समेत नागरिकले ज्यान जोखिममा राखेर तुइनबाट नदी पार गर्नुपर्ने अवस्था रहेको भन्दै सरकार तथा सम्बन्धित निकायले तत्काल समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
ढुङ्गे र त्रिशूली बजार जोड्ने बेलिब्रिज निर्माणसमेत भइरहेको छ । आगामी दुई साताभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ । बेलिब्रिज सञ्चालनमा आएपछि मोटरसाइकल, निजी तथा सार्वजनिक सवारीसाधनका यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ ।
यता, बाढीले क्षतिग्रस्त बनाएको अक्करे–सोले हुँदै किस्पाङ जाने सडकको विकल्पमा नयाँ सडकमार्ग खोलिएको छ । अक्करे, ठूलोधारा र डाँडाथोक हुँदै सोले पुग्ने वैकल्पिक सडक आइतबारदेखि सञ्चालनमा आएपछि त्यस क्षेत्रको आवतजावत सहज बनेको छ ।
नयाँ मार्गबाट सोले हुँदै किस्पाङसम्म सवारीसाधन पुग्न सक्ने भएका छन् । सडकका केही स्थानमा तारजाली भर्ने काम भइरहेको र उक्त काम सम्पन्न भएपछि यातायात थप सहज हुने जनाइएको छ ।
बाढीले ध्वस्त बनाएका सडक तथा पुलको पुनर्निर्माणसँगै वैकल्पिक मार्ग र अस्थायी संरचना निर्माण हुन थालेपछि नुवाकोटका प्रभावित बस्तीमा विस्तारै जनजीवन सामान्य बन्ने आशा पलाएको छ । यद्यपि, सुरक्षित र नियमित यातायात सञ्चालनका लागि बाँकी रहेका पुल तथा सडक निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता अझै कायमै छ ।

