भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग सभामुख अर्यालको भेट



काठमाडौं,मंसिर १ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेहरूसँग भेटघाट गर्नुभएको छ ।

सभामुख अर्यालले सोमबार सर्लाही पुगेर दुर्घटनाबाट प्रभावित परिवार तथा घाइतेहरूसँग भेट गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारी लिनुभएको हो ।

भेटका क्रममा उहाँले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारलाई राज्यका तर्फबाट उचित राहत तथा सहयोग उपलब्ध गराउन र घाइतेको उपचारको व्यवस्था मिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गत कात्तिक २६ गते काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्