मासु बिक्री गर्न ‘स्वस्थ मासु’ को छाप अनिवार्य
काठमाडौं, मङ्सिर १ । जारी भएको २८ वर्षपछि ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ आजदेखि कार्यान्वयनमा आएको छ । पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुरका २१ स्थानीय तहमा ऐन लागू गरिएको हो ।
ऐन कार्यान्वयनसँगै अब तोकिएको वधशालामा पशु वध गर्नुपर्ने र वधअघि तथा पछि पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउनुपर्नेछ । परीक्षणबाट खानयोग्य प्रमाणित भई ‘स्वस्थ मासु’ को छाप लगाइएको मासु मात्र बिक्री–वितरण गर्न पाइनेछ ।
मासु जाँच तथा प्रमाणीकरणका लागि २४० जना दक्ष प्राविधिक तयार पारिएको छ भने अनुगमनका लागि तीनै जिल्लामा उच्चस्तरीय कार्यदल र स्थानीय तहमा टोली परिचालन गरिएको छ ।
ऐन कार्यान्वयनका लागि पूर्वाधार, बजेट र आधुनिक वधशालाको अभाव मुख्य चुनौतीका रूपमा देखिएका छन् । सरकारले भने उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले ऐन प्रभावकारी रूपमा लागू गर्ने जनाएको छ ।

