कच्चा दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ पुर्याउन किसानको माग
चितवन,मंसिर १ । बढ्दो महँगी र उत्पादन लागतलाई मध्यनजर गर्दै कच्चा दूधको न्यूनतम खरिद मूल्य प्रतिलिटर ७५ रुपैयाँ पुर्याउन चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सरकारसँग माग गरेको छ ।
हाल किसानले प्रतिलिटर ६५ रुपैयाँ पाउँदै आएकोमा १० रुपैयाँ वृद्धि गरी ७५ रुपैयाँ पुर्याउन संघले माग गरेको हो । सोमबार चितवनमा पत्रकार सम्मेलन गर्दै संघले माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
संघका अध्यक्ष किशोर बगालेले पशु आहार, खाद्यान्न, स्वास्थ्य, शिक्षा, इन्धन तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा दूध उत्पादन लागतसमेत बढेको बताउनुभयो । उहाँले किसानको मर्का बुझेर सरकारले तत्काल दूधको खरिद मूल्य वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
चितवनमा दैनिक तीन लाख ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको र उत्पादित दूधमध्ये ५५ प्रतिशत काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र मकवानपुरमा आपूर्ति हुने गरेको अध्यक्ष बगालेले जानकारी दिनुभयो ।
कृषि मन्त्रालयलगायत सम्बन्धित निकायमा पटक–पटक मागपत्र बुझाउँदा पनि सुनुवाइ नभएको संघको गुनासो छ । किसानको माग बेवास्ता गरिए थप कडा आन्दोलनका कार्यक्रम अघि बढाउने संघले चेतावनी दिएको छ ।

