चितवनसँग ६१ रनले पराजित हुँदै काठमाडौं गोर्खाज प्रतियोगिताबाट बाहिरियो
काठमाडौं,मंसिर ३ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज क्वालिफायर–२ मा प्रवेश गरेको छ। बुधबार राति कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै चितवनले फाइनल प्रवेशको सम्भावना कायम राखेको हो। पराजयसँगै काठमाडौं प्रतियोगिताबाट बाहिरिएको छ।
अब चितवनले फाइनल प्रवेशका लागि क्वालिफायर–२ मा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेताले उपाधिका लागि फाइनलमा लुम्बिनी लायन्ससँग खेल्नेछ।
चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो। काठमाडौंका लागि विलियम बोसिस्टोले ३७ रन बनाए। उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे। भीम सार्कीले अविजित ३० तथा सहन अराच्चिगेले २४ रन जोडे।
चितवनका बलर रिजन ढकालले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए। उसामा मिरले १५ रन दिएर ३ विकेट झारे। कुशल मल्ल र सलाहुद्दिन खानले समान १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो।
चितवनको विशाल योगफल तयार पार्न कामिल मिश्राले शतकीय पारी खेले। उनले ५९ बलमा ५ चौका र १० छक्काको मद्दतले अविजित १२० रन बनाए। कप्तान रवि बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रन जोडे।
२२ रनमै २ विकेट गुमाएर दबाबमा परेको चितवनलाई मिशारा र बोपाराले तेस्रो विकेटका लागि १५४ रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्याएका थिए।
काठमाडौंका कप्तान करण केसी र राशिद खानले समान २ विकेट लिए पनि चितवनको विशाल योगफल रोक्न सकेनन्।
यस जितसँगै चितवन उपाधि यात्रामा एक कदम अघि बढेको छ भने काठमाडौंको एनपिएल यात्रा एलिमिनेटरमै समाप्त भएको छ।

