धान–गहुँ छाडेर उखु खेतीमा आकर्षित हुँदै किसान



कञ्चनपुर,मंसिर ३ । परम्परागत रूपमा धान, गहुँलगायत खाद्यान्न बाली लगाउँदै आएका कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित हुन थालेका छन् । अन्य खाद्यान्न बालीको तुलनामा उखु खेतीबाट बढी आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेका हुन् ।

भीमदत्त नगरपालिका–७ का धनसिंह ठगुन्नाले उखु खेतीबाट राम्रो आम्दानी हुने देखेपछि व्यावसायिक खेती सुरु गर्नुभएको छ । तीन जनाको साझेदारीमा जग्गा भाडामा लिएर खेती सुरु गर्नुभएका उहाँले अहिले १२ बिघा क्षेत्रफलमा उखु खेती गरिरहनुभएको छ ।

“परम्परागत खेतीभन्दा उखु खेतीमा राम्रो प्रतिफल आउने भएपछि व्यावसायिक रूपमा अगाडि बढेका छौँ । कम मेहनत र लगानीमा राम्रो आम्दानी गर्न सकिने रहेछ,” ठगुन्नाले भन्नुभयो ।

उहाँका अनुसार उखु खेतीबाट उत्पादन लिन सके बजारको समस्या हुँदैन । एकपटक रोपेको उखुबाट लगातार तीन सिजनसम्म उत्पादन लिन सकिने भएकाले खेतीको लागतसमेत घट्छ । पहिलो वर्ष रोपेको उखुको जराबाट पलाउने मुनाबाट दोस्रो र तेस्रो वर्ष पनि उत्पादन लिन सकिन्छ ।

उत्पादित उखु बेलौरीस्थित महाकाली सुगर मिलमा बिक्री हुने गरेको छ । मिलले किसानलाई प्रोत्साहन गर्न उखुको बीउ र कीटनाशक औषधिसमेत उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।

ठगुन्नाका अनुसार धान र गहुँ खेतीबाट एक बिघामा सबै खर्च कटाएर बढीमा ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । तर उखु खेतीमा राम्रो उत्पादन भए एक बिघाबाट सबै खर्च कटाएर तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । उहाँले प्रतिकट्ठा वार्षिक दुई हजार रुपैयाँ भाडा तिर्ने गरी १२ बिघा जग्गा लिएर खेती गरिरहनुभएको छ ।

स्थानीय किसान तारा महरा पनि तीन वर्षदेखि व्यावसायिक उखु खेतीमा संलग्न हुनुहुन्छ । परम्परागत खाद्यान्न बालीभन्दा उखु खेतीबाट बढी फाइदा हुने भएपछि यसतर्फ आकर्षित भएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार दुई बिघा जग्गामा उखु बिक्रीका लागि तयार भएको छ भने १० बिघामा बीउ रोप्ने काम भइरहेको छ ।

उखु खेतीले स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ । महराका अनुसार खेतीको सिजनमा २० देखि २५ जनासम्मले रोजगारी पाउने गरेका छन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार जिल्लामा पाँच हजार ६६० हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । उक्त क्षेत्रफलबाट वार्षिक तीन लाख ४५ हजार २६० मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । जिल्लामा उखुको उत्पादकत्व प्रतिहेक्टर ६१ मेट्रिक टन रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्