नुवाकोटका दुई विद्यालयका पाँच सय विद्यार्थीलाई झोला, एक विद्यालयलाई कम्प्युटर सहयोग
नुवाकोट,मंसिर ३ । विद्यार्थीलाई अध्ययनप्रति प्रोत्साहित गर्ने उद्देश्यले नुवाकोटका दुई विद्यालयमा अध्ययनरत पाँच सय विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको छ । यसैगरी एक विद्यालयलाई दुई थान कम्प्युटरसमेत प्रदान गरिएको छ ।
यशोदादेवी/भगवानसिंह केसी मेमोरियल ट्रष्टको पहलमा जापानी दाताहरूको सहयोगमा लिखु गाउँपालिका – ६ स्थित बच्छला माध्यमिक विद्यालयका २८५ र विदुर नगरपालिका–१० गेर्खुटारस्थित सुन्दरीक्यौरेनी माध्यमिक विद्यालयका २१५ विद्यार्थीलाई एक–एक थान झोला वितरण गरिएको हो ।
यसैगरी ट्रष्टले सुन्दरीक्यौरेनी माध्यमिक विद्यालयलाई दुई थान आधुनिक कम्प्युटरसमेत उपलब्ध गराएको छ ।
ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसी, महासचिव जगदीश्वरनरसिंह केसी तथा दाताहरू विद्यालयमै पुगेर विद्यार्थीलाई झोला र विद्यालयलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको हो ।
विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्नुका साथै विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सहयोग गरिएको ट्रष्टले जनाएको छ ।

