प्रहरीको ‘ब्राबोसेरा’ अभियान प्रभावकारी, १७२ थान अवैध बन्दुक बरामद



म्याग्दी,मंसिर ३ । वन्यजन्तुको अवैध चोरीसिकार तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले म्याग्दी प्रहरीले सञ्चालन गरेको ‘ब्राबोसेरा’ अभियान प्रभावकारी बन्दै गएको छ । अभियानमार्फत हालसम्म जिल्लाका विभिन्न स्थानबाट १७२ थान अवैध भरुवा बन्दुक बरामद भएका छन् ।

अभियानअन्तर्गत बुधबार मालिका गाउँपालिका–५ मगरदाङको घरथोकस्थित वन क्षेत्रमा लुकाएर राखिएका सात थान भरुवा बन्दुक बरामद भएका छन् । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले वन क्षेत्रमा खोजतलास गर्ने क्रममा ती बन्दुक फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बरामद बन्दुकका सम्बन्धमा अनुसन्धान भइरहेको छ । यसअघि गत आइतबार पनि सोही वडाको पन्थोकस्थित वन क्षेत्रमा लुकाएर राखिएका पाँच थान भरुवा बन्दुक बरामद भएका थिए । पछिल्लो समय मालिका गाउँपालिकाका विभिन्न वन क्षेत्रमा गरिएको खोजतलासबाट मात्रै १२ थान अवैध बन्दुक फेला परेका छन् ।

म्याग्दी प्रहरीले २०८२ मङ्सिर १५ गतेदेखि अवैध हातहतियार नियन्त्रणका लागि ‘ब्राबोसेरा’ अभियान सञ्चालन गर्दै आएको छ । ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना तथा सामुदायिक वन क्षेत्रमा हुने वन्यजन्तुको चोरीसिकार नियन्त्रण गर्नुका साथै अवैध हतियारबाट हुन सक्ने आपराधिक घटना न्यूनीकरण गर्नु अभियानको मुख्य उद्देश्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार वन्यजन्तुको चोरीसिकारमा प्रयोग हुने अवैध बन्दुक आपसी विवाद, झैझगडा तथा अन्य आपराधिक गतिविधिमा समेत प्रयोग हुन सक्ने जोखिम रहेकाले अभियान सञ्चालन गरिएको हो ।

प्रहरीले जिल्लाका छवटै स्थानीय तहका वनजङ्गल, गोठ, खोल्साखोल्सी, रूखका टोड्का, पुराना घरगोठ तथा जमिनमुनि लुकाएर राखिएका अवस्थामा बन्दुक फेला पार्ने गरेको छ । स्थानीयवासीबाट प्राप्त सूचना, जनप्रतिनिधिको समन्वय र प्रहरीको खोजतलासका आधारमा अधिकांश हतियार बरामद भएका हुन् ।

प्रहरीका अनुसार खोजतलास र कारबाहीबाट बच्न वन्यजन्तुको चोरीसिकारका लागि वनजङ्गलमा लुकाएर राखिएका बन्दुक छाडेर भाग्ने गरेको समेत पाइएको छ ।

प्रहरी निरीक्षक तिमिल्सिनाले समुदायको सहयोगका कारण अभियान प्रभावकारी बनेको बताउनुभयो । उहाँले अवैध बन्दुक लुकाएर राखेको स्थानबारे सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने जानकारी दिँदै त्यस्ता हतियारबारे प्रहरीलाई सूचना दिन आग्रह गर्नुभयो ।

कानुनी व्यवस्थाअनुसार प्रशासनबाट अनुमति लिएर व्यक्तिगत सुरक्षाका लागि हतियार राख्न पाइने भए पनि इजाजतबिना हातहतियार राख्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रहरीले अवैध हातहतियार नियन्त्रण, वन्यजन्तुको चोरीसिकार रोकथाम तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यसहित अभियानलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्