कोप–३१ मा जलवायु वित्तका लागि २७ करोड ३० लाख डलर सहयोग प्रतिबद्धता
काठमाडौँ,मंसिर ३ । टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा ११ देश तथा सम्बद्ध पक्षले जलवायु वित्तका लागि करिब २७ करोड ३० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्राकृतिक स्रोत संरक्षण परिषद् (एनआरडिसी) का अनुसार डेनमार्कले ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटीमा १० करोड ७० लाख युरो, बेल्जियमले पाँच करोड युरो र स्पेनले चार करोड ५० लाख युरो सहयोग घोषणा गरेका छन् । जर्मनी, दक्षिण कोरिया, आयरल्यान्ड, सिङ्गापुर, पोर्चुगललगायतले पनि विभिन्न जलवायु कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालले भने जलवायु जोखिममा रहेका मुलुकलाई अनुदानमा आधारित वित्तीय सहयोग उपलब्ध गराउन र विकसित देशले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु वित्तमा सहज र शीघ्र पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनको न्यून योगदान भए पनि नेपालले असमान रूपमा क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै रसुवा–भोटेकोशी बाढीबाट भएको क्षति र पुनर्निर्माणको आवश्यकतालाई जलवायु न्यायको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।
सम्मेलनको मस्यौदामा सन् २०३५ सम्म अनुकूलन वित्त तीन गुणा बढाएर कम्तीमा एक खर्ब २० अर्ब अमेरिकी डलर पुर्याउने प्रस्ताव गरिएको छ । साथै विकासोन्मुख तथा जोखिममा रहेका देशलाई सहुलियतपूर्ण र अनुदानमा आधारित वित्तीय सहयोग उपलब्ध गराउन जोड दिइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जलवायु वित्तका लागि थप प्रतिबद्धता आउने अपेक्षा गरिएको बताउनुभएको छ । तर वन तथा जलवायु विज्ञ डा. सिन्धुप्रसाद ढुङ्गानाले विगतमा पनि प्रतिबद्धता जनाउने तर कार्यान्वयन नगर्ने समस्या रहेकाले यसपटकका घोषणा कार्यान्वयन हुनेमा सुनिश्चित हुन नसकिने बताउनुभएको छ ।

