बाढी प्रतिकार्यमा खटिएका सहयोगीहरूको मानसिक स्वास्थ्यमा ध्यान दिँदै नुवाकोटमा जागरण कार्यक्रम



नुवाकोट,मंसिर ३ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सहयोग तथा सेवा प्रदान गर्ने क्रममा अग्रपंक्तिमा खटिएका व्यक्तिहरूको शारीरिक र मानसिक स्वास्थ्य सुरक्षाका लागि नुवाकोटमा जागरण कार्यक्रम सञ्चालन गरिएको छ।

बाढी प्रतिकार्यमा संलग्न व्यक्तिहरूले पनि विभिन्न तनाव र चुनौती सामना गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कोशिशले संयुक्त राष्ट्रसङ्घीय महिला निकाय (यूएन वुमन) को सहयोगमा नुवाकोटको बट्टारमा दुईदिने स्वःहेरचाहसम्बन्धी जनचेतना तथा जागरण कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा समुदायका विभिन्न क्षेत्रमा आबद्ध ६२ जनाको सहभागिता रहेको परियोजना प्रबन्धक सीता भण्डारीले जानकारी दिइन्। उनका अनुसार कार्यक्रममा शिक्षक, स्वयंसेवक, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सञ्चारकर्मी, विभिन्न सरोकारवाला तथा कोशिशका कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा चिकित्सक तथा मनोविद् सुलभराज उप्रेती, परियोजना प्रबन्धक भण्डारीलगायतले सहभागीलाई शारीरिक तथा मानसिक स्वास्थ्य, कार्यक्षेत्रमा उत्पन्न हुने तनाव र त्यसको व्यवस्थापन गर्ने उपायबारे जानकारी गराएका थिए।

बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा खटिने सहयोगी व्यक्तिहरूको स्वास्थ्य र मनोवैज्ञानिक अवस्थालाई समेत प्राथमिकता दिनुपर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले स्वःहेरचाह र तनाव व्यवस्थापनसम्बन्धी जानकारी पाएपछि प्रभावित नागरिकलाई थप सहज र प्रभावकारी रूपमा सेवा प्रदान गर्न उत्प्रेरणा मिलेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्