आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा सरकारलाई कारण देखाऊ आदेश
काठमाडौं,मंसिर ३ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई पुनर्बहालीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बुधबार कार्कीलाई आईजीपी पदबाट हटाइएको विषयमा सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको हो।
सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत गरेको छ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन आईजीपी कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा सरुवा गर्दै मनोज केसीलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको थियो।
आफ्नो कार्यकाल अझै डेढ वर्ष बाँकी रहँदै पदबाट हटाइएपछि कार्की पुनर्बहालीको मागसहित सर्वोच्च अदालत पुगेका हुन्।

