मलेसिया जाने श्रमिकमाथि ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
काठमाडौं,मंसिर ३ । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्। त्यस्तै, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुङ्गाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ पनि पक्राउ परेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा उनीहरूको संलग्नता रहेको आरोप छ।
उक्त प्रकरणमा अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम गैरकानुनी रूपमा संकलन गरी विदेश पठाइएको प्रहरीको दाबी छ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ।

