बराह सहकारी ठगी प्रकरणमा संस्थापक लामिछानेसहित दुई जना पक्राउ
सुनसरी,मंसिर ३ । बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा ठगी गरेको आरोपमा फरार रहेका संस्थाका संस्थापक शिवकुमार विश्वकर्मा (लामिछाने) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बराह सहकारीका ४५ वर्षीय संस्थापक विश्वकर्मा र संस्थाको ऋण उपसमिति सदस्य तथा ग्राहक सेवा (कस्टमर केयर) मा कार्यरत ३३ वर्षीया अस्मिता भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१२ जन्मस्थान भई हाल काठमाडौं महानगरपालिका–२२ बस्दै आएका विश्वकर्मा र धरान उपमहानगरपालिका–१५ निवासी भण्डारीलाई सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराह सहकारीको मुख्य कार्यालय धरानमा रहेको छ। सहकारीसँग आबद्ध भएर नेपालमा ३० वटा र विदेशमा चारवटा कम्पनी स्थापना गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ। ती कम्पनी तथा सहकारीसँग सम्बन्धित कारोबारका क्रममा बचतकर्ताले जम्मा गरेको रकम अपचलन तथा ठगी भएको आरोप छ।
उक्त प्रकरणमा १७ हजार १० जना बचतकर्ता पीडित रहेको प्रहरीले जनाएको छ। शङ्कर थापासहित चार हजार २४३ जनाको जाहेरीका आधारमा नेपाल सरकार वादी भई मुद्दा अघि बढाइएको छ।
प्रहरीका अनुसार उक्त मुद्दामा कुल बिगो १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ कायम गरिएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

