पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो लाग्ने



काठमाडौं,मंसिर ३ । हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका केही हिमाली क्षेत्रमा आंशिक बदली हुनुका साथै तराई, उपत्यका र खोँचका अधिकांश स्थानमा तुवाँलो तथा हुस्सु लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रहने र अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्