आर्मीलाई हराउँदै एपिएफ महिला गोल्डकपको फाइनलमा



धरान,मंसिर ३ । नेपाल आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) क्लब प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

धरान उपमहानगरपालिका–१६ स्थित धरान रङ्गशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले दुवै गोल पहिलो हाफमै गरेको थियो । खेलको नवौँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन् । त्यसपछि पहिलो हाफको ४४औँ मिनेटमा कप्तान गीता राणाले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरिन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी गीता राणा ‘खेलको उत्कृष्ट खेलाडी’ घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

यसअघि क्वाटरफाइनलमा भारतको झारखण्डस्थित अक्वा फुटबल क्लबलाई ७–० गोलले पराजित गर्दै एपिएफ सेमिफाइनलमा पुगेको थियो । त्यस्तै, आर्मीले बागमती युथ क्लब सर्लाहीलाई ९–० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र आयोजक स्वर्णिम फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले उपाधिका लागि फाइनलमा एपिएफसँग प्रतिस्पर्धा गर्नेछ ।

डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, रक्षक, मध्यपङ्क्तिका खेलाडी, अग्रपङ्क्तिका खेलाडी, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्