मकवानपुरमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात जना घाइते
मकवानपुर,मंसिर ३ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा सुमो दुर्घटना हुँदा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
आज बिहान करिब ८ः३० बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको हो।
दुर्घटनामा चालकसहित १० जना घाइते भएका थिए। उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएका उनीहरूमध्ये तीन जनालाई बिहान ९ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २५ वर्षीया अनुसा लामा, सोही ठाउँकी २०/२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा रहेका छन्।
दुर्घटनामा सुमो चालक कालुमान लोप्चनसहित सात जना घाइते भएका छन्। घाइते चालकको ढाडमा चोट लागेको छ। अन्य घाइतेमा १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा धोज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर रहेका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये केहीको काँध, हात, करङ र ढाडमा चोट लागेको छ भने एक जनाको टाउकोमा समेत चोट लागेको छ। उनीहरू सबैको अवस्था मध्यम रहेको र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनालगत्तै प्रहरी चौकी भैँसे, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय भीमफेदीबाट २७ जना प्रहरी उद्धारमा खटिएका थिए। उद्धार कार्यमा नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीसमेत परिचालन गरिएको थियो।

