एमाले राष्ट्रिय कार्यकर्ता भेलाबाट २१ बुँदे प्रस्ताव पारित, निर्वाचनको तयारी गर्ने निर्णय
काठमाडौँ,मंसिर ३ । नेकपा (एमाले)को दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाले लोकतन्त्रको पुनर्बहाली, राष्ट्रिय स्वाधीनताको रक्षा, पार्टी सङ्गठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीलगायत विषय समेटेर २१ बुँदे समसामयिक विशेष प्रस्ताव तथा सङ्कल्प पारित गरेको छ।
बिहीबार सम्पन्न भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको पूर्वतयारी गर्ने निर्णय गरेको छ। आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलनको तयारी गर्ने निर्णयसमेत गरेको छ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ आयोजित भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो। भेलामा देशभर र प्रवासबाट गरी तीन हजार ४१४ प्रतिनिधिको सहभागिता रहेको थियो।
भेलाले २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न सक्षम न्यायिक आयोग गठन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पारित प्रस्तावमा वर्तमान सरकारका कामकारबाही, संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, जनजीविका र पार्टीको आन्तरिक जीवनलगायत विषय समेटिएका छन्।
प्रस्तावमा संविधान, सङ्घीयता र संवैधानिक संस्थाको संरक्षण गर्नुपर्नेमा जोड दिँदै प्रदेश खारेजी, संवैधानिक निकायमाथिको हस्तक्षेप र राज्यका संस्थालाई राजनीतिक स्वार्थअनुसार परिचालन गर्ने प्रयासप्रति आपत्ति जनाइएको छ। महँगी नियन्त्रण, घरायसी प्रयोजनको विद्युत्मा लगाइएको कर फिर्ता, सुकुम्बासीको उचित व्यवस्थापन तथा व्यवसायीका लागि अनुकूल वातावरण निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
राष्ट्रिय स्वाधीनता र परराष्ट्र सम्बन्धका विषयमा छिमेकी मुलुकसँगको सम्बन्ध सार्वभौम समानता, पारस्परिक लाभ र सम्मानमा आधारित हुनुपर्ने प्रस्ताव पारित गरिएको छ। प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा सीमा समस्या, असमान सन्धि, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, व्यापार घाटा, हवाई प्रवेश बिन्दु र रोकिएका परियोजनाका विषयमा स्पष्ट धारणा राख्न आग्रह गरिएको छ।
त्यस्तै, भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल पुनःस्थापना, पुनर्निर्माण र राहत वितरणलाई प्रभावकारी बनाउन माग गरिएको छ। बाढी प्रभावित बालबालिका, गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका समस्या प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ। क्षतिग्रस्त पुल तथा सडक मर्मत गरी सम्पर्कविच्छेद भएका बस्तीलाई जोड्न र वैज्ञानिक अध्ययनका आधारमा बस्ती पुनर्निर्माण गर्न पनि आग्रह गरिएको छ।
जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका विपत्तिलाई जलवायु न्यायको विषयका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रभावकारी कूटनीतिक भूमिका निर्वाह गर्नुपर्ने प्रस्तावमा उल्लेख छ। बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सडक स्तरोन्नति, सवारीसाधनको गुणस्तर परीक्षण तथा चालकको सीप र अनुशासनमा सुधार गर्न पनि माग गरिएको छ।
भेलाले राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षाका लागि देशभक्त, लोकतन्त्र तथा संविधान पक्षधर राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग संवाद र सहकार्य गर्न आह्वान गरेको छ। प्रवासी नेपालीको मताधिकार, नागरिकता, लगानी, रोजगारी र सामाजिक सुरक्षासम्बन्धी समस्या सम्बोधन गर्न तथा खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकको सुरक्षा सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
पार्टीको आन्तरिक जीवनमा सुधार, शुद्धीकरण र सङ्गठनात्मक सुदृढीकरणलाई प्राथमिकता दिने सङ्कल्पसमेत भेलाले गरेको छ। पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रूपमा एकताबद्ध बनाउने, विगतका कमजोरी सच्याउने तथा युवा पुस्तासँग संवाद र सहकार्य बढाउने प्रस्ताव पारित गरिएको छ।
पार्टीका नेता तथा कार्यकर्तामा देखिएका विलासी जीवनशैली, जनताबाट टाढिने प्रवृत्ति, आर्थिक तथा आचरणगत विचलन र भ्रष्टाचारप्रति निर्मम हुने प्रतिबद्धता पनि भेलाले व्यक्त गरेको छ। गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्दै पार्टी विधान, नियमावली र आचारसंहिताको पूर्ण पालना गर्ने तथा स्वस्थ बहस र लोकतान्त्रिक विधिलाई सम्मान गर्ने सङ्कल्प गरिएको छ।
आगामी निर्वाचनमा जनता र कार्यकर्ताको भावना तथा निर्धारित विधिअनुसार उम्मेदवार छनोट गर्ने र पार्टीको निर्णयअनुसार उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने प्रतिबद्धता पनि भेलाले गरेको छ।
भेलामा अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा सम्बोधन गर्नुभएको थियो। वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले पनि पार्टीको ऊर्जा, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, समृद्धि, शुद्धीकरण, सुदृढीकरण र आगामी निर्वाचनको तयारीलगायत विषयमा धारणा तथा प्रशिक्षण प्रस्तुत गर्नुभएको थियो।

