एन्फामाथिको निलम्बन र प्रशासनिक तथा आर्थिक प्रतिबन्ध राखेपद्वारा फुकुवा
काठमाडौं,मंसिर ३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि लगाएको निलम्बनसहित सबै प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
राखेपको कार्यकारी समितिको बिहीबार बसेको बैठकले एन्फामाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। निर्णय कार्यान्वयनमा आएसँगै एन्फाको प्रशासनिक तथा आर्थिक गतिविधिमा लगाइएको रोकावटसमेत हटेको छ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई पत्र पठाउँदै प्रतिबन्ध फुकुवाको औपचारिक जानकारी गराउनुभएको छ।
एन्फाले गत अप्रिल ५ मा पठाएको पत्रमार्फत गरेको अनुरोध तथा राखेपले यसअघि विभिन्न समयमा जारी गरेका पत्राचारलाई आधार बनाएर निलम्बन र प्रतिबन्ध हटाइएको पत्रमा उल्लेख छ।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (३) बमोजिम प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको जनाएको छ।

