तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चीनसँग परराष्ट्रमन्त्रीको आग्रह



काठमाडौं,मंसिर ३ । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ।

परराष्ट्र मन्त्रालयमा बिहीबार चिनियाँ राजदूत चाङ माओमिङसँग भएको शिष्टाचार भेटका क्रममा मन्त्री खनालले तातोपानी नाका खुलाउन आवश्यक पहल गर्न आग्रह गर्नुभएको हो।

भेटमा मन्त्री खनालले गत भदौमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदमा चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकासमेत पूर्ण रूपमा सञ्चालन हुन कठिन हुने अवस्था रहेको उल्लेख गर्नुभयो।

यस्तो अवस्थामा काठमाडौँसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउनु आवश्यक रहेको उहाँको भनाइ थियो। तातोपानी नाका दुई देशबीचको ऐतिहासिक मित्रता र सम्बन्धको प्रतीकसमेत भएकाले आवागमन तथा सम्पर्क सञ्जाल सहज बनाउन नाका खोल्नुपर्नेमा उहाँले जोड दिनुभयो।

जवाफमा चिनियाँ राजदूत चाङले तातोपानी नाका सञ्चालनका विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी काम गर्ने बताउनुभएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा बाढीपछिको पुनर्निर्माण, नेपाल–चीन सम्बन्ध, बहुपक्षीयता तथा आपसी हित र चासोका विविध विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्