धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु



झापा,मंसिर ३ । झापामा धान काट्ने मेसिन र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा बुधबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार मंसिर २ गते राति करिब १०ः४० बजे राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा बाह्रदशी गाउँपालिका–३ निवासी २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी–२ निवासी १७ वर्षीय अशोक राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि धान काट्ने मेसिनका चालक फरार रहेका छन्। उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्