बाढीपीडितलाई राहत र पुनर्निर्माणमा सहयोग गर्ने चीनको प्रतिबद्धता



भक्तपुर,मंसिर ३। चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्ष याङ वानमिङले रसुवा–भोटेकोशी बाढीपीडितलाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका काम अघि बढाउने र केरुङ नाका पुनः सञ्चालनका लागि चीनले पहल गरिरहेको बताउनुभएको छ।

तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार भक्तपुर पुग्नुभएका अध्यक्ष वानमिङले नगरप्रमुख सुनिल प्रजापतिसँगको भेटमा चीनले आफ्नो क्षमताअनुसार नेपाललाई निरन्तर सहयोग र समर्थन गर्दै आएको उल्लेख गर्नुभयो। विपद्का बेला पनि नेपाललाई थप सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो।

भेटका क्रममा उहाँले भूकम्प, कोरोना महामारी तथा भोटेकोशी बाढीजस्ता विपद्का समयमा नेपाल र चीनले एकअर्कालाई सहयोग गर्दै आएको बताउनुभयो। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच ऐतिहासिक तथा रणनीतिक सम्बन्ध स्थापना गर्ने सहमति भएको स्मरण गर्दै उहाँले आर्थिक, राजनीतिक, सांस्कृतिक, पर्यटन तथा युवा आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको बताउनुभयो।

भेटमा नगरप्रमुख प्रजापतिले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा मित्रवत् रहेको उल्लेख गर्नुभयो। सातौँ शताब्दीमा तिब्बतका राजा स्रङचङ गम्पोसँग नेपाली राजकुमारी भृकुटीको विवाह तथा तेह्रौँ शताब्दीमा नेपाली कलाकार अरनिकोले तिब्बत र बेइजिङमा निर्माण गरेका कलाकृतिले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई प्रस्ट पार्ने उहाँको भनाइ थियो।

सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएयता चीनले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको चर्चा गर्दै प्रजापतिले सडक पूर्वाधार, उद्योगधन्दा स्थापना र ट्रलीबस सञ्चालनमा चीनको योगदान उल्लेख गर्नुभयो।

भेटअघि तथा भ्रमणका क्रममा चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थल दरबार क्षेत्र, टौमढी र तालाक्वको अवलोकन गरेको थियो।

चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्ष वानमिङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउन फान, सङ्घका उपमहासचिव ची योङच्युन, एसियाली तथा अफ्रिकी मामिला विभागका महानिर्देशक लिउ फाङलगायत अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्