सुदूरपश्चिम लगातार तेस्रो पटक एनपिएलको फाइनलमा, चितवन ३ विकेटले पराजित



काठमाडौं,मंसिर ३ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान सुरक्षित गरेको हो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो। एनपिएलका तीनवटै संस्करणको फाइनलमा पुग्ने सुदूरपश्चिम एक्लो टोली बनेको छ।

सुदूरपश्चिमको जितमा थरिन्दु रत्नायकेले सर्वाधिक ५३ रनको अविजित पारी खेले। कप्तान दीपेन्द्रसिंह ऐरीले १३ बलमा २३ रन बनाए भने विनोद भण्डारीले २३ रनको योगदान दिए। त्यस्तै इशान पाण्डे र उसामा मिरले समान १० तथा आरिफ शेखले १० रन बनाए।

चितवनका लागि रन्जित कुमारले २ विकेट लिए भने कमलसिंह ऐरी, सलाउद्दिन खान, रिजन ढकाल र उसामा मिरले समान १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। चितवनका लागि डेविड मलानले ५१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७१ रनको अविजित पारी खेले। सलाउद्दिन खानले १८ रन बनाए।

अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा चितवनले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सकेन। कमलले १०, देव खनालले ६, कमिल मिसाराले ४, विवेक यादवले ३ र उसामा मिरले २ रन बनाए। कप्तान रवि बोपारा र कुशल मल्ल समान १ रनमा आउट भए।

सुदूरपश्चिमका स्कट कुगेलाइनले सर्वाधिक ३ विकेट लिए। थरिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १ विकेट लिए।

जितसँगै सुदूरपश्चिमले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँगको भेट पक्का गरेको छ। गत संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो। पहिलो पटक क्वालिफायरमा पुगेको चितवन भने उपाधि होडबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्