एनपीएलको उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, शनिबार फाइनल
काठमाडौं,मंसिर ४ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।
शनिबार साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनलमा दुवै टोली उपाधिका लागि आमनेसामने हुनेछन्।
बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा लुम्बिनीसँगको भेट पक्का गरेको हो। यससँगै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ।
लगातार तीन संस्करण फाइनल पुगे पनि सुदूरपश्चिमले अहिलेसम्म उपाधि जित्न सकेको छैन। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग हारेको थियो। यसपटक सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा रहँदा लुम्बिनी उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ।
एकै सिजन तेस्रो भेट, दुवै खेलमा लुम्बिनी विजयी
तेस्रो संस्करणको लिग चरणमा ११ अंक जोड्दै लुम्बिनी शीर्ष स्थानमा रहेको थियो भने १० अंकसहित सुदूरपश्चिम दोस्रो स्थानमा थियो। यस सिजन लिग चरण र पहिलो क्वालिफायरमा भएका दुवै भेटमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरेको छ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले सिधै फाइनलमा स्थान बनाएको थियो। अब शनिबार हुने खेलमा सुदूरपश्चिमसँग अघिल्ला दुई हारको बदला लिँदै पहिलोपटक उपाधि जित्ने अवसर हुनेछ।
बिहीबार कीर्तिपुरमा भएको दोस्रो क्वालिफायरमा टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। चितवनका डेविड मलानले ५१ बलमा ९ चौका र २ छक्कासहित अविजित ७१ रन बनाए। सलाहुद्दिन खानले १८ र कमल ऐरीले १० रन जोडे।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ तथा थरिन्दु रत्नायकेले २ विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र ईशान पाण्डेले समान एक विकेट हात पारे।
१३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर जित निकालेको थियो। टोलीका लागि थरिन्दु रत्नायकेले ४२ बलमा ७ चौकासहित अविजित ५३ रन बनाए। विनोद भण्डारीले २३, कप्तान दीपेन्द्रसिंह ऐरीले १५ तथा ईशान पाण्डे र आरिफ शेखले समान १० रन जोडे।
चितवनका रञ्जित कुमारले २ तथा कमल ऐरी, रिजन ढकाल, उसामा मीर र सलाहुद्दिन खानले समान एक विकेट लिए।
अब लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिमले पहिलो उपाधि जित्ने प्रयास गर्नेछ भने लुम्बिनी लगातार दोस्रोपटक च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रनेछ।

