चार महिनामा थोरङ्ला पास हुँदै ८ हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिए



मुस्ताङ,मंसिर ४— चालु आर्थिक वर्षको पहिलो चार महिनामा थोरङ्ला पास हुँदै आठ हजार ६४ जना पर्यटक मुस्ताङ भित्रिएका छन्। राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ हुँदै पाँच हजार ४१६ मिटर उचाइको थोरङ्ला पास पार गरेर उनीहरू मुस्ताङ पुगेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि कात्तिकसम्म दुई हजार ८४१ जना स्वदेशी र पाँच हजार २२३ जना विदेशी पर्यटक थोरङ्ला पास हुँदै मुस्ताङ प्रवेश गरेका छन्।

प्रहरीको तथ्याङ्कअनुसार स्वदेशी पर्यटकमध्ये दुई हजार ८०८ जना पुरुष र ३३ जना महिला छन्। त्यसैगरी विदेशी पर्यटकमा तीन हजार ५७ जना पुरुष र दुई हजार १६६ जना महिला रहेका छन्।

महिनागत विवरणअनुसार साउनमा १३३, भदौमा ३९९, असोजमा एक हजार ३६८ र कात्तिकमा सबैभन्दा बढी ६ हजार १६४ जना पर्यटकले थोरङ्ला पास पदयात्रा गरेका छन्। कात्तिकमा मौसम अनुकूल रहेकाले पर्यटकको आवागमन बढेको हो।

गत असोज ११ गते थोरङ्ला पास क्षेत्रमा भएको भारी हिमपातका कारण पदमार्ग दुई साताभन्दा बढी समय अवरुद्ध भएको थियो। बेमौसमी हिमपातले पदयात्रा प्रभावित हुँदा मनाङबाट मुस्ताङ आउने पर्यटकको आवागमन रोकिएको थियो। पछि मुस्ताङ र मनाङका पर्यटन व्यवसायी, सुरक्षाकर्मी तथा सरोकारवालाले हिउँ पन्छाएर पदमार्ग सञ्चालनमा ल्याएका थिए।

लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङ्ला पास पार गरेर मुस्ताङको मुक्तिनाथ पुग्ने यो पदमार्ग साहसिक पदयात्राका लागि प्रसिद्ध छ। यस क्रममा पर्यटकले अन्नपूर्ण हिमालसहित आसपासका हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्ने अवसर पाउँछन्।

थोरङ्ला पास पदयात्राका लागि वर्षमा मुख्यतः दुईवटा याम उपयुक्त मानिन्छन्। हिउँदयामअघि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर तथा हिउँदयामपछि अप्रिल, मे र जुन महिनामा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल हुने गर्छ।

प्रतिक्रिया दिनुहोस्