डिजिटल वित्तीय ठगीमा परे तत्काल १२४७ नम्बरमा सम्पर्क गर्न राष्ट्र बैङ्कको आग्रह
काठमाडौं,मंसिर ४ । नेपाल राष्ट्र बैङ्कले साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी घटना भएमा तत्काल १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
राष्ट्र बैङ्कले यस्ता घटनाको उजुरी तथा गुनासो तत्काल सम्बोधन गर्न प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोमा २४ सै घण्टा सञ्चालन हुने एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको जनाएको छ।
उक्त केन्द्रको हटलाइन नम्बर १२४७ मा सम्पर्क गरी अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीका घटनाबारे जानकारी दिन तथा उजुरी गर्न सकिनेछ।
राष्ट्र बैङ्कले साइबर तथा डिजिटल वित्तीय ठगीमा परेमा ढिलाइ नगरी उक्त नम्बरमा सम्पर्क गर्न र केन्द्रबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।
त्यस्तै, ठगीमा परेमा आफ्नो बैङ्क तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई बैङ्क खाता तथा डिजिटल वालेट सुरक्षित राख्न आवश्यक पहल गर्न पनि राष्ट्र बैङ्कले आग्रह गरेको छ।

