२९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र बक्यौता बुझाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
काठमाडौं,मंसिर ४ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नबुझाएका नौ गरी २९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र बक्यौता बुझाउन निर्देशन दिएको छ।
प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेमा तथा बक्यौता रकम नबुझाएमा अनुमतिपत्र खारेजीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो।
प्राधिकरणले नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको रकम, थप दस्तुर र जरिवानासहितको सम्पूर्ण बक्यौता तोकिएको समयभित्र चुक्ता गर्न निर्देशन दिएको छ।
तोकिएको अवधिभित्र आवश्यक प्रक्रिया पूरा नगर्ने सेवा प्रदायकमाथि प्रचलित कानुनअनुसार अनुमतिपत्र खारेजीको प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ।

