मधेस प्रदेशको विकासका लागि ५० अर्ब बजेट विनियोजन गरिएको छ : मन्त्री लम्साल



जनकपुरधाम, मंसिर ४ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम नगर कमिटीले जनकपुरमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चालु आर्थिक वर्षमा सङ्घीय सरकारले सबैभन्दा बढी बजेट मधेस प्रदेशका लागि विनियोजन गरेको जानकारी दिनुभयो।

मन्त्री लम्सालका अनुसार सडक, पुल, भवन र खानेपानीलगायत भौतिक पूर्वाधारका क्षेत्रमा मधेस प्रदेशका लागि करिब ५० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ।

उहाँले सङ्घीय सडकका ठेक्का प्रक्रिया क्रमशः अगाडि बढिरहेको उल्लेख गर्दै कमला पुलसहित हुलाकी राजमार्गका अधुरा पुलहरूको निर्माण सम्पन्न गर्ने सरकारको योजना रहेको बताउनुभयो। साथै, बजार क्षेत्रमा हुलाकी राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजना पनि अघि बढाइएको जानकारी दिनुभयो।

मधेस प्रदेशको विकासका लागि आवश्यक थप योजना तथा सुझाव दिन आग्रह गर्दै उहाँले आवश्यकता र औचित्यका आधारमा सरकारले थप बजेट तथा कार्यक्रम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जनकपुरधामको पूर्वाधार विकासका विषयमा थप छलफल गर्ने बताउँदै मन्त्री लम्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी अनुशासित र व्यवस्थित रूपमा सङ्गठनात्मक गतिविधिमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।

उहाँले देशभर निर्माण क्षेत्रमा कार्यरत श्रमिकमध्ये ७० प्रतिशतभन्दा बढी मधेस प्रदेशका रहेको उल्लेख गर्दै श्रमिकको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णयबाट यस प्रदेशका श्रमिक सबैभन्दा बढी लाभान्वित हुने दाबीसमेत गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्