विद्युत् अवरुद्ध हुँदा पनि चल्ने भयो विदुरको विद्युतीय तुइन, जेनेरेटर जडान
नुवाकोट,मंसिर ४ । ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको विनाशकारी बाढीले पक्की मोटरेबल पुलहरू ध्वस्त बनाएपछि नुवाकोटका विभिन्न स्थानमा आवतजावतमा समस्या भइरहेको छ। यस्तो अवस्थामा स्थानीयको आवागमन सहज बनाउन विदुर नगरपालिका–६ स्थित त्रिशूली नदीमाथि सञ्चालनमा रहेको विद्युतीय तुइनमा जेनेरेटर जडान गरिएको छ।
सिँचाइ पुलबाट मान्द्रेढुङ्गा जोड्ने पक्की मोटरेबल पुल बाढीले बगाएपछि वैकल्पिक आवागमनका लागि गत महिना उक्त स्थानमा विद्युतीय तुइन जडान गरिएको थियो। तर, पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुँदा तुइन सञ्चालनमा समस्या भएपछि यात्रुको सहजताका लागि जेनेरेटर जडान गरिएको हो।
लायन्स क्लबको अगुवाइमा निर्माण गरिएको उक्त मोटरेबल तुइनमा अब विद्युत् सेवा अवरुद्ध भए पनि जेनेरेटरको सहायताले नियमित सञ्चालन गर्न सकिने विदुर नगरपालिका–६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेले बताए। उनका अनुसार जेनेरेटर जडानपछि स्थानीयवासीलाई नदी वारपार गर्न थप सहज भएको छ।
विद्युतीय स्वचालित तुइनको पूर्वाधार कार्यालयका प्राविधिकबाट आवश्यक जाँच गरी झोल्लिएको लट्ठा मिलाउने र जेनेरेटर जडान गर्ने कामसमेत सम्पन्न भएको वडा सदस्य रामचन्द्र पौडेलले जानकारी दिए।
विद्युत् आपूर्तिमा बारम्बार समस्या आउँदा तुइन सञ्चालन अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै लायन्स क्लब इन्टरनेसनलको सहयोगमा तीन फेजको १५ केभिए क्षमताको हेभी ड्युटी जेनेरेटर जडान गरिएको समन्वयकर्ता अनुजकुमार श्रेष्ठले बताए।
उनका अनुसार जेनेरेटर जडानले विद्युत् अवरुद्ध भएको तथा अन्य असहज परिस्थितिमा समेत तुइन नियमित सञ्चालन गर्न सहयोग पुग्नेछ। बाढीले पुलहरू बगाएपछि आवागमनबाट प्रभावित स्थानीयवासीका लागि यो तुइन महत्वपूर्ण वैकल्पिक माध्यम बनेको छ।

